माध्यमिक शिक्षा परीक्षा (SEE) · कक्षा १०
एसईई २०८२ नेपाली प्रश्नपत्र, लुम्बिनी प्रदेश
एसईई २०८२ नेपाली (लुम्बिनी प्रदेश, RE-1021'LP') मा जम्मा २१ प्रश्न छन्, पूर्णाङ्क ७५ र समय ३ घण्टा। प्रश्नहरूमध्ये २ अङ्कका ६, ३ अङ्कका ३, ४ अङ्कका १० र ७ अङ्कका २ प्रश्न छन्।
एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्ड (NEB), नेपालले सञ्चालन गर्छ। यो प्रश्नपत्र मूल प्रतिबाट टाइप गरी GyanMul टोलीले जाँचेको हो।
- २१ प्रश्न
- पूर्णाङ्क ७५
- ३ घण्टा
- कोड RE-1021'LP'
प्रश्नहरू
प्रश्न १२ अङ्क
समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : समूह 'क' समूह 'ख' निसाफ त्रुटि हटाउने काम टालो पानीको थोपा परिष्करण खराब नतिजा सङ्कल्प अदालती निर्णय कपडाको सानो टुक्रा दृढ निश्चय
प्रश्न २२ अङ्क
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : जीवन अनन्त गतिमा बढोस् भन्ने सबैको चाहना हुन्छ तर परिस्थितिले गर्दा त्यो सब पूरा गर्न सकिँदैन । मनमा दृढ विश्वास बोकेर उच्च मनोबल राख्नु नै जीवनको अर्थ बुझ्नु हो । (क) 'अभिरुचि' को पर्यायवाची शब्द ………… हो । (ख) 'मरण' को विपरीतार्थक शब्द ………… हो । (ग) अनेकार्थी शब्द ………… हो । (घ) 'कहिल्यै अन्त्य नहुने' पदावलीको सिङ्गो शब्द ………… हो ।
प्रश्न ३२ अङ्क
दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : समयमै काम पूरा गर भन्दा — कानमा तेल हालेर बस्यौ । त्यो वेला भनेको कुरा फटाफट गरिदिएको भए आज यसरी हावा खानु पर्दैनथ्यो । अहिले झलझली सम्झेर पछुतो मान्नु बेकार छ ।
प्रश्न ४३ अङ्क
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (१) (अ) संशोधन शंशोधन शंसोधन संसोधन (आ) बिरुवा बिरुव्वा बिरुवा बिरुवा (ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : (२) जमानसिंहले भन्यो, किन गाउँ छाडेको कान्छा सारा खेति धान्नूपर्ने ग्यानी छोरो परदेश पो आएछ ।
प्रश्न ५३ अङ्क
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : त्यो केटो एक्कासि भुइँमा लड्यो अनि तुरुन्त कोही आएर उठायो । सामान्य उपचार गरेपछि उसलाई घर लगियो । (रेखाङ्कित: त्यो, एक्कासि, अनि, कोही, उपचार, लगियो)
प्रश्न ६४ अङ्क
(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् : (२) नेपाली भाइले असम्भव कामलाई जहिले पनि सम्भव हुन्छ भन्थे । उनको विचार जाँगरिलो बनी काम गरे प्रगति गर्न कठिन छैन भन्ने थियो । ग्रामीण परिवेशमा हुर्किएका उनी साह्रै मिहिनेती थिए । (ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् : (२) ठुली आमा माइत जान तम्तयार भएपछि पीताम्बर काकाले बाटालाई खर्च भनेर पैसासैसा दिनुभयो । ससाना भाइ र बहिनी पनि पछि पछि लागेर मामाघर गए ।
प्रश्न ७२ अङ्क
दिइएका वाक्यलाई अभ्यस्त पक्षमा परिवर्तन गर्नुहोस् : आयुप र लाक्पा मिहिनेत गर्छन् । उनीहरू सहरको विद्यालयमा पढ्छन् । उनीहरू आफ्नो गाउँको उन्नति हेर्न चाहन्छन् । उनीहरू सबैलाई आफ्नो गाउँ फर्कनुपर्छ भन्छन् ।
प्रश्न ८२ अङ्क
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) सामान्यार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफूले गर्ने कुनै कामका बारेमा वर्णन गर्नुहोस् । (ख) दिइएका प्रथम पुरुषका वाक्यलाई तृतीय पुरुषमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् : म नेपाली नागरिक हुँ । म आफ्नो देशलाई माया गर्छु । म नेपाली हुन पाएकामा गौरव गर्छु । म आफ्नो देशको समृद्धिमा लाग्छु ।
प्रश्न ९४ अङ्क
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) बुद्ध नेपालमा जन्मिएका हुन् । बुद्धले अहिंसाको पाठ सिकाए । (वाक्य संश्लेषण) (ख) आफू त बजार गइन्छ । (कर्तृवाच्य) (ग) भाइबहिनीहरू पाठ पढ्छन् । (प्रेरणार्थक) (घ) गुरुले मलाई भन्नुभयो, "तिमी हिजो किन आएनौ ?" (अप्रत्यक्ष कथन)
प्रश्न १०४ अङ्क
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : यस्तै वेलामा कुटुम्बले छोरा शशीधरलाई छोरी दिन आए । कुटुम्ब धनीमानी थिए । जिल्लामा उनको ठुलो ख्याति थियो । मधेसतिर तीनचार मौजा जिमिदारी छ भन्ने । सन्तानमा केवल यिनै एउटा छोरी मात्र हुन् भन्ने सुनिन्थ्यो । शशीधर भर्खर १५ वर्ष मात्र लागेको थियो । ठिटो राम्रो र बहुत मेधावी थियो । छोराको यति सानै उमेरमा विहा गर्न त श्रीधरको मन थिएन । एउटी छोरी मात्र भएका धनी कुटुम्बले घरै आएर छोरी दिँदा उनी बडो असमञ्जसमा परे । उता घरकाले पनि बिहा गर्नैपर्छ भनेर करकर गर्न थाले । कामकुरो छिन्नियो । खुब मन फुकाएर विहाका मालसर्जाम तयार गर्न थाले । (क) 'कुटुम्ब धनीमानी थिए ।' यस वाक्यलाई अकरणमा बदल्नुहोस् । (ख) रेखाङ्कित 'शशीधरलाई' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् । (ग) 'यस्तै वेलामा कुटुम्बले छोरा शशीधरलाई छोरी दिन आए ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् । (घ) 'एउटी छोरी मात्र भएका कुटुम्बले घरै आएर छोरी दिँदा उनी असमञ्जसमा परे ।' यस वाक्यलाई मिश्र वाक्यमा बदल्नुहोस् ।
प्रश्न ११४ अङ्क
दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : पश्चिमाहरू प्रकृतिलाई जड मान्छन् । उनीहरूका लागि प्रकृति एउटा भौतिक उपलब्धि मात्र हो । प्रकृति मान्छेका लागि हो तसर्थ यसको जतिसक्दो उपयोग गर्नुपर्छ भन्ने भौतिकवादी दृष्टिकोण पश्चिमी विचारको चुरो हो । प्रकृति र मानवको अस्तित्व परिपूरक सम्बन्धमा आधारित छ, त्यसैले प्रकृतिलाई चेतन रूपमा मान्नुपर्छ र सन्तुलित उपयोग गर्नुपर्छ भन्ने कुरा पूर्वीय दर्शनको सारतत्त्व हो । अहिले आएर पश्चिमाहरूले प्रकृति संरक्षणको नारा उठाए पनि पश्चिममा यो नारा उठेको धेरै समय भएको छैन । मान्छे आफैँ प्रकृति हो त्यसैले भौतिक विकासको चरमचुलीमा पुगेपछि मानवतामा उत्पन्न हुने अतृप्त वितृष्णा र कुण्ठाको उचित निकासका लागि 'प्रकृतितिरै फर्क' को नारालाई यसै सन्दर्भमा हेर्नुपर्छ । प्रकृति भनेको ढुङ्गो, माटो, वृक्ष, वनस्पति र जलस्रोत हो । अब यी सबै कुरालाई प्राकृतिक सम्पदा भन्न थालिएको छ । समकालीन विश्वमा धनी वा गरिब राष्ट्रको निर्णय उसको अधीनमा रहेको प्राकृतिक सम्पदाकै आधारमा हुन थालेको पाइन्छ । प्रकृतिको विराट स्वरूप नै वातावरण हो । वातावरणभित्र वायुमण्डलसमेत समेटिन्छ । (क) पश्चिमी विचारको चुरो के हो ? (ख) प्रकृति र मानवको अस्तित्व केमा आधारित छ ? (ग) विश्वमा धनी र गरिब राष्ट्रको पहिचान कसरी गरिन्छ ? (घ) वातावरणलाई किन प्रकृतिको विराट स्वरूप भनिएको हो ?
प्रश्न १२४ अङ्क
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् : नाम — बालकृष्ण सम ; जन्म — वि.सं. १९५९ माघ २४ गते ; जन्मस्थान — ज्ञानेश्वर, काठमाडौँ ; मातापिता — कृति राज्यलक्ष्मी र समर शमशेर ; शिक्षा — आई.एस्सी. ; सेवा — सैनिक सेवा, रेडियो नेपालका निर्देशक, गोरखापत्रका सम्पादक ; कृति — मुटुको व्यथा, अमरसिंह, भीमसेनको अन्त्य आदि नाटक, चिसो चुल्हो महाकाव्य, आगो र पानी खण्डकाव्य आदि ; योगदान — आधुनिक नेपाली नाटकका प्रवर्तक, सुखान्त र दुःखान्त नाटकको रचना; पौराणिक र ऐतिहासिक विषयवस्तुमा नाटक रचना ; पुरस्कार — त्रिभुवन पुरस्कार, साझा पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार आदि ; मृत्यु — वि.सं. २०३८ साउन ६ गते, काठमाडौँ । (ख) 'भाग्य ठुलो कि परिश्रम ठुलो' भन्ने वादविवादको विषयमा विपक्षीका मतको खण्डन गर्दै पक्षका तर्फबाट आफ्ना गहकिला तर्क प्रस्तुत गर्नुहोस् ।
प्रश्न १३४ अङ्क
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) विद्यालयमा जम्मा हुने फोहोर व्यवस्थापन गरिदिन अनुरोध गर्दै वडा कार्यालयलाई लेख्ने निवेदनको नमुना तयार पार्नुहोस् । (ख) विद्यालयको वार्षिकोत्सव समारोहमा अतिथिलाई आमन्त्रण गर्न दिइने निमन्त्रणा पत्रको नमुना तयार पार्नुहोस् ।
प्रश्न १४२ अङ्क
दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनले कलामार्फत बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने दसी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरे । त्यसैले त नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् । उनले भिखारी, जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत बनाए । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाए । उनी केवल मान्छेको बाहिरी आवरण मात्र कहाँ हो र, ती व्यक्तिका भित्री वेदना, संवेदना, संवेग, मर्म र सौन्दर्य मूर्त बनेर उनका अमूर्त चित्रभित्र चित्रित हुन्थे । जसजसले ती चित्र हेर्थे ती व्यक्तिको हृदयमा करुणा, दया, माया, स्नेह र आक्रोशका भाव सल्बलाउँथे र हेर्दाहेर्दै ती चित्रमा नै हराउँथे ।
प्रश्न १५३ अङ्क
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : अधिकारको क्षेत्र व्यापक छ । यसभित्र बाल अधिकार, श्रमिक अधिकार, महिला अधिकार आदि धेरै अधिकारका कुरा पर्छन् । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार र बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले अधिकारका बारेमा प्रस्ट उल्लेख गरेकै छ । बालबालिकाले जन्मनासाथ शिक्षा र सुरक्षाका अधिकार पाउनुपर्छ, श्रमिकले न्यूनतम ज्याला र सामाजिक सुरक्षाको अधिकार पाउनुपर्छ । आफ्ना अधिकार प्राप्तिका लागि श्रमिकले गरेको ऐतिहासिक विद्रोहको सम्झनामा संसारभर मे १ तारिखका दिन 'मजदुर दिवस' मनाइन्छ । किसानलाई पनि राज्यबाट बिउबिजन र मल जस्ता वस्तुमा सहुलियत पाउने अधिकार छ । अधिकार नै नभएमा मानिसले कर्तव्य पूरा गर्न सक्दैन । त्यसैले अधिकारविनाको कर्तव्य नुनविनाको तरकारी जस्तै हो ।
प्रश्न १६४ अङ्क
दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : के गर्नु चुनावका घोषणापत्रहरू ? सिँगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन सक्दैन यो यिनीहरूलाई के पढ्नु अन्तरिक्ष यानका गतिविधिहरू ? दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन यसको पनि यिनीहरूलाई । (अ) प्रस्तुत कवितांशमा चुनावी घोषणापत्रलाई कुन रूपमा चित्रण गरिएको छ ? (आ) अन्तरिक्ष यानका बारेमा कविको धारणा के छ ?
प्रश्न १७४ अङ्क
दिइएको निबन्धांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : यसरी प्राचीन कालदेखि ज्ञानको खानी रहेको मेरो देशको शिक्षा आज आधुनिक वैज्ञानिक शिक्षा प्रदान गर्न आतुर छ । त्यसो त मेरो देशले आफ्ना परापूर्व कालदेखि रहेको ज्ञानलाई आधुनिक विज्ञानसँग एकैसाथ सहयात्रा गर्दै छ । नेपाली माटामा सुन फलाउने गरी व्यावसायिक र आधुनिक कृषि शिक्षा दिन मेरो देशको शिक्षामा अझै लगानी र पहुँच विस्तारमा जोड दिनुपर्छ । मुलुकका उत्पादनलाई विश्व बजारमा पस्कने गरी हाम्रा विद्यार्थी उत्पादनलाई संसारमा चिनाउन सक्षम हुने परिस्थिति पैदा गर्नु जरुरी छ । (अ) देशको शिक्षामा आउनुपर्ने सकारात्मक परिवर्तन के के हुन् ? (आ) व्यावसायिक शिक्षाले कृषि उत्पादनमा कसरी सहयोग गर्छ ?
प्रश्न १८४ अङ्क
'कुनै पनि मानिस शत्रु नभएको हुन सक्दैन' भन्ने भनाइका बारेमा 'शत्रु' कथाका आधारमा आफ्ना तर्क लेख्नुहोस् ।
प्रश्न १९४ अङ्क
कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : (क) पहाड भन्छ पसिना पाए म स्वर्ग भुलाउँथेँ तराई भन्छ सिँचाइ पाए म सुन फुलाउँथेँ । (ख) हामी दुवै चाहन्छौँ एउटा यस्तो दुनियाँ सिर्जना गरौँ जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् ।
प्रश्न २०७ अङ्क
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् : (क) दिइएको एकाङ्कीको अंशका आधारमा सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् : किन बस्ने यहाँ ? एक गाँस खानका निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गरौँला । जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔँला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाऔँला । यसरी सबैको हेलाहाँसो भएर म त बस्दिनँ यहाँ । साराले आफ्नै देशमा काम पाएका छन्, हामीले विदेशमा यसरी लत्रेर बस्नुपर्छ र ? (अ) युवाहरूलाई विदेसिनबाट रोक्न 'घरको माया' एकाङ्कीले कस्तो सन्देश दिएको छ ? दिइएको अंशसहित पाठका आधारमा समीक्षा गर्नुहोस् । (ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् : देवकोटाको कवित्व प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय रहेको छ । नेपाली कविताको अहिलेसम्मको यात्रामा प्रतिभा, रचना परिणाम र उत्कृष्ट गुणस्तरका दृष्टिले देवकोटा सर्वोच्च कवि मानिएका छन् । (अ) जीवनीको अंश र मूल पाठका आधारमा नेपाली भाषा साहित्यका क्षेत्रमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पुर्याएका योगदानको समीक्षा गर्नुहोस् ।
प्रश्न २१७ अङ्क
कुनै एक शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : (क) विद्युतीकरण र विकास (ख) राष्ट्र निर्माणमा युवाको भूमिका (ग) मेरो जीवनको लक्ष्य
स्रोत: prep.gyanmul.com/ne/see/past-papers/nepali/2082/lumbini · GyanMul Prep